Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 09, No. 12-14

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4812

सम्पादकीय

कोरोना काल मात्र नभएर उत्तर कोरोना कालमा समेत विश्वले नै एउटा अस्थिर अनि अव्यवस्थित परिस्थिति झेल्नु पर्‍यो, झेलिरहेको छ। त्यसैको परिणामस्वरूप वर्ष २०२० देखि अभिज्ञानको प्रकाशन सुचारु गर्न सकिएन। त्यस समयदेखि हालसम्म अभिज्ञानका पाँचवटा अङ्क छापिनु पर्ने हो तर एउटै पनि छापिएन। शोधपत्रको सङ्कलन, चयन, समीक्षा अनि सम्पादन प्रक्रियामा त्यसै पनि समय लाग्छ नै, त्यसमाथि स्थिति प्रतिकूल रहेकाले यसको व्यवस्थापन श्रमसाध्य बन्यो। यतिका समयपछि बल्ल जुन २०२१ देखि डिसम्बर २०२२ सम्मका समयावधिमा छापिनु पर्ने यसका तीनवटा अङ्कलाई संयुक्त रूपमा अहिले प्रकाशन गरिँदैछ। ढिलै भए पनि अहिले छापिँदै गरेको अभिज्ञानको यस अङ्कलाई सुधी पाठक महानुभावहरूले सहर्ष ग्रहण गर्नु हुनेछ भन्ने अपेक्षा साँचेका छौँ।

अघिल्ला प्रायः अङ्कहरू जस्तै अभिज्ञानको यो अङ्क पनि विविध विषययुक्त रहेको छ। यसमा प्राज्ञिक अनुसन्धानरत दसजना लेखकका विभिन्न विषयमा लेखिएका शोधपत्रलाई ठाउँ दिइएको छ। अभिज्ञानको गत अङ्कदेखि यसमा छापिएका सबै शोधपत्रहरू विद्वत् समीक्षा आधृत छन्। सम्बन्धित विषयका प्राज्ञहरूको परामर्शअनुसार संशोधन भए पछि प्रकाशनयोग्य ठहराइएका यसका सबै शोधपत्रमा अभिज्ञानको निर्दिष्ट लेखन शैली अनुसरण गरिएको छ।

अभिज्ञानको यस अङ्कमा रहेका दसवटा लेखका विषय विचार गर्दा सञ्जय विष्ट, सिबेन शर्मा अनि आशिष तामाङका लेखबाहेक अन्य सातवटा लेख नेपाली कथाका विवेचनमा केन्द्रित छन्। आधुनिक नेपाली कथा साहित्यको पहिलो प्रहरमा कथा लेख्ने गुरुप्रसाद मैनालीबाट सुरु गरेर ध्रुवचन्द्र गौतम, विन्द्या सुब्बा, प्रदीप गुरुङ हुँदै सञ्जय विष्टसम्मको कथाकारिताका वस्तु अनि शैली खुट्ट्याउने प्रयास यी शोधपत्रले गरेका छन्।

ज्ञानानुशासनका प्रत्येक क्षेत्र अन्तर्विषयक बन्दै गइरहेको आजको समयमा साहित्यको अध्ययनमा पनि विविध ज्ञानानुशासनलाई आधारभूमि बनाइएको छ। यस्तै आधारभूमि टेकेर उभिएका यसमा समाविष्ट दुर्गाप्रसाद शर्माको ‘अपराध कथाका रूपमा “मैले सरिताको हत्या गरेँ” कथाको विश्लेषण’, राजीव विश्वकर्मको ‘प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना’, विश्वराज खतिवडाको “नासो” कथामा सामाजिक वास्तविकता’ जस्ता लेखले शोधकर्तालाई साहित्य सन्धानका नयाँ दिशा देखाएका छन्। डा भुपेन तामाङ अनि कोमल सुब्बाका नेपाली बालकथा विषयक लेख तथा कथाका शैलीय सङ्घटनाको विवेचनामा केन्द्रित डा योगेश पन्त कृत “कथाकारको आँखा” कथाको विधा परिपाटी’ र शिवम् शर्मा कृत ‘ध्रुवचन्द्र गौतमको “तदुपरान्त” कथामा वक्रोक्ति प्रयोगको विश्लेषण’ शीर्षक लेखहरू यस अङ्कका नौला अभिप्राप्ति हुन्। साहित्यिक अध्ययनका दुईवटा पाटा छन् - वस्तु अनि शैली। सिबेन शर्मा कृत ‘समकालीन भारतीय नेपाली कवितामा समय चेतना’ शीर्षक लेखमा समय तत्त्वलाई वस्तुसँगै शैलीय विवेचनाको आधार बनाएको छ। यीबाहेक साहित्येतर विषयमा लेखिएका दुईवटा लेखमध्ये सञ्जय विष्टको ‘शब्दार्थ सम्बन्ध’ भाषिक विमर्श केन्द्रित छ भने आशिष तामाङको ‘गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार’ शीर्षक लेखले तामाङ समुदायद्वारा पालन गरिने मृत्युसम्बन्धी लोकसांस्कृतिक गतिविधिसित हामीलाई परिचय गराएको छ। यसरी विविध विषयका दसवटा लेखहरूको सङ्गालाका रूपमा आइरहेको अभिज्ञानको यस अङ्कका जम्मै लेखहरूले कुनै न कुनै रूपमा हाम्रा पाठकहरूको बौद्धिक क्षितिजलाई विस्तार गर्न सहयोग गर्ने छ भन्ने आशा राख्दछौँ।

Browse

Search Results

Now showing 1 - 2 of 2
  • Thumbnail Image
    ItemOpen Access
    Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना
    (University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेन
    बालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्‌भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी
    (University of North Bengal, 2022) Patna पत्न, Yogesh योगेश
    सञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।